वायु प्रदूषणको प्रभाव : आँखाका बिरामी बढे, घर बाहिर निस्कँदा सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको हावामा प्रदूषणको मात्रा बढेसँगै आँखाका बिरामी पनि बढेका छन् । प्रदूषणको मात्रा बढेपछि आँखा रातो हुने, चिलाउने, पोल्ने, सुन्निने जस्ता समस्या लिएर बिरामीहरु अस्पताल पुग्ने गरेको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर इन्दुप्रसाद ढुंगेलले बताए ।
उनकाअनुसार अहिले दैनिक तीन सय जनाको हाराहारीमा बिरामीहरु आँखा जाँचको लागि अस्पताल पुग्ने गरेका छन् । उनीहरुमध्ये धेरैमा प्रदूषणका कारण भएको समस्या देखिएको छ । दुई हप्ताअघि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको थियो । अहिले पनि देशका धेरै ठाउँमा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा रहेको छ ।
प्रदूषणका कारण हुने समस्या धेरैजसोको सामान्य उपचारमा ठिक हुने भएपनि दैनिक ५–६ जना गम्भीर प्रकृतिको समस्या भएका बिरामी समेत आउने गरेका डाक्टर ढुङ्गेलले बताए । प्रदूषणले आँखामा गम्भीर प्रकृतिको समस्यासमेत देखिने हुँदा घरबाहिर निस्कँदा सावधानी अपनाउन डा. ढुङ्गेलले आग्रह गरे ।
प्रतिक्रिया