आइतबार, वैशाख ७, २०८२

वर्तमान परिप्रेक्षमा

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ १४ गते ८:१५

संसद् विघटनपछि दलहरु एक अर्कामा बाझाबाझ गर्न व्यस्त छन् । ओली र प्रचण्डको झगडा तँतँ र मममै पुगिसकेको छ । प्रचण्डले ओलीलाई भेंडा र अपुतोसम्म भन्न भ्याए । ओलीले पनि म अपुतो भए तिमी के नि भन्न भ्याए । यसरी सामाजिक मर्यादा नै भुलेर एक अर्कामा व्यक्तिगतरुपमा नै ओर्लिएर अश्लील शब्दले प्रहार गर्ने तरिकाले तिनले कार्यकर्ता र अनुयायीलाई के सन्देश दिन चाहेका होला ? अब हामीले यस्तो अनुत्तरदायी र अश्लील नेतृत्वबाट देशको भविष्य लेख्न सकौंला भनेर विश्वास गर्न सकिने कुनै मार्ग बाँकी छैन । यी उमेरले पनि गलित बिचारमा पनि पतितहरुको कहिलेसम्म हामी दास भएर रहने हो ?

ओलीको हालसम्मका रवैयाहरुले उनी राजीनामा दिने वा सत्ता हस्तान्तरण गरेर मार्ग प्रशस्त गरिदिने मनस्थितिमा छैनन् भन्ने देखाउँछ । ०६२–०६३ मा दलहरुले राजा ज्ञानेन्द्रलाई जुन आरोप प्रत्यारोप लगाउँथे त्यसको सय गुणा बढी लिच्चडपन ओलीका रवैयाहरुले देखाएका छन् । अदालत ओलीको रणचण्डी नाच हेर्नमा मस्त छ । प्रचण्ड माधवहरु तँतँ र ममको भाषामा गाली गलौजमा उत्रिसकेका छन् । अब छिट्टै दुबै पक्ष हिंसाप्रति हिंसामा उत्रने खतराहरु बढेर गएको देखिन्छ । भाइचाराका सीमाहरुलाई नाघेर एक अर्कालाई ढुङ्गामुढा गर्न समेत यी दानवासुर अघासुरहरु पछि पर्ने छैनन् । प्रचण्डले त ननभेज आन्दोलन गर्नुपर्ने अवस्था आइसकेको बताएका छन् । त्यसको पूर्वानुमान ढुङ्गामुढा केहि सीप नचले हतियार उठाउनेसम्मका रबैयाहरु प्रचण्डले देखाएका छन् ।

अर्कोतर्फ राजनैतिक दलका साइबर सेनाहरु आ–आफ्ना मालिकको भजनगान गर्नमा हर्दम लागि परेका छन् । मालिकको भजनगान नगर्ने बिसुद्ध व्यापार गर्ने मिडिया नामका बानियाँहरु भने आ–आफ्ना पसलमा राजनीतिका खबरहरु बेचेर मुनाफा कमाईरहेका छन् । तिनलाई देशको चिन्ता छैन । कुन खबर बेच्दा बढी मुनाफा हुन्छ तिनीहरु त्यहि खबर बेचिरहेका छन् । खबर सम्प्रेषणबाट जनतालाई सूसुचित गर्नुको साटो तिनीहरु खबर बेच्छन् । जसरी एक पसलमा चकलेट, चाउचाउ र बिस्कुटहरु बेचिन्छन् त्यसैगरी खबरका पुरियाहरु बेचिएका छन् । यहि नै मुलुकको पत्रकारिताको अवस्थाको नाङ्गो चित्र हो ।

गरिबहरुको जिन्दगी उसै गरी बितिरहेछ, जसरी पहिले तिनीहरु जमलको पुलमाथि सयको तीन जोर मोजा बेचेर गुजारा गर्दथे । जसरी तिनीहरु मादल बझाएर दीनहीन मुहारले पाँच दस रुपैयाँ बटुल्दथे । जसरी तिनीहरु सय रुपैयाँका सस्ता भ्याकुम क्लिनर बेचेर पेट पाल्दथे । जसरी तिनीहरु फेन्सीमा बिक्न नसकेका ब्रा र पेन्टी बेच्दथे । जसरी तिनले कम्पनीबाट उत्पादनकै समयमा डिफल्ड निक्लिएर सस्तोमा बेच्न पठाइएका सामान बेच्दथे । जसरी तिनले कुहिन लागेको स्ट्रबेरी सडकपेटीमा बेच्दथे । जसरी तिनले आफ्नो शरीरलाई मूल्य लगाएर देहव्यापार गर्दथे । जसरी सडकको तीरमा बसेर एवं रीतले पचासौं वर्षदेखि यो क्रम जारी छ । तिनको भाग्योदयरुपी भविष्यको रेखा कोर्ने अवसर पाएकाहरु भने तँतँ र ममको अश्लील गालीहरुमा रमाइरहेका छन् । यो नै हो देशको वर्तमान चित्र ।

देशको चाबी ताला राजनैतिक दलहरुलाई बुझाइदिएका राजा कदाचित् मात्र बोल्छन्, नभए उनी मौन रहन्छन् । उनी ससाना प्रतिकात्मक सन्देशमात्र दिन्छन् अब देशले चाहेको छ । देशले के चाहेको छ त्यो पनि उनी आफंैले भन्दैनन् । बरु हामी स्वयंले मिलाएर बुझ्नुपर्ने हुन्छ । उनले एउटा मात्र शब्द उच्चारण गरे भने राजनैतिक दलहरुमा हड्कम्पन मच्चन्थ्यो । त्यस्तो शक्तिशाली के अस्त्र छ होला ज्ञानेन्द्रसँग जसका कारण राजनैतिक दलहरु उत्तेजित हुन्छन् । के यिनको कुनै विशेष बदमासी छ होला कि ? नत्र किन हड्कम्प मच्चन्छ होला राजनैतिक दलहरुमा ज्ञानेन्द्रका शब्दहरुले ? ज्ञानेन्द्रका कुन मन्त्र वा तन्त्रको आधारमा राजनैतिक दलहरुले भूकम्पको महसुस गर्दा हुन् ?

मुलुकको खानी खजानाहरु निर्जीव छन् । यी दुई तीन सय वर्षदेखि नै निर्जीव थिए । गणतन्त्रात्मक शासनले नै तिनलाई सजीव बनाउन पर्छ भन्ने बेतुकका तर्कहरु गरियो भने प्रजातन्त्र, लोकतन्त्र, र गणतन्त्रलगायतका तमाम तन्त्रवादी हिमायतीहरुको गाली खानुपर्ने अवस्था आउन सक्छ । यसको बारेमा चर्चा र बहस गर्ने फुर्सद राजनैतिक दलका ग्याङहरुलाई कम्फाइडबाट फुर्सद मिलेको छैन । यी निर्जीव खानी खजानाले जीवन पाउन अझै धेरै समय कुर्नुपर्ने हुनसक्छ । कुर्दा कुदै यी खजानाहरु अर्कैको स्वामित्वमा पुग्न पनि सक्छन् । जसरी बल र विवेक भएका युवावर्ग हरेक दिन अर्कैको स्वामित्वमा पुगिरहेका छन् । बाँकी रहेका आधाजसो युवावर्ग कसैलाई जननायक नेता, कसैलाई राष्ट्रनायक नेता, कसैलाई महान् नेता, बनाउन साइबर र सडकमा अहोरात्र खटिएका छन् । मानौं, बरु नेपाली भात खाइँदैन, चाइनिज चाउचाउ खाइन्छ तर आफ्ना ग्याङका नेतालाई महान् बनाउन लागि परिन्छ भन्ने युवाहरुको उद्घोष छ ।

कम्फाइडको रेफ्री अदालतले एक महिनामा पनि कुन पक्ष हार्यो, कुन पक्ष जित्यो त्यसको नतिजा दिन सकेको छैन । रेफ्रीलाई भविष्यको भातको चिन्ता वा मालिकको भक्तिभावमा चुनै चोटको चिन्ताले सताए जस्तो मात्र देखिएको छ । हामी बचपनमा सधैँ खेल खेल्ने साथीहरुबाट हरेक दिन एकजना फरक, फरक व्यक्तिलाई रेफ्री चुन्ने गर्दथ्यौं । झेली नहोस् भनेर चुनिएको रेफ्रीले पनि सधैँ आफू खेलिरहेको टिमले गोल गर्दा एकहात उफ्रिएर सिट्टी फुक्दै गोलको संकेत दिन्थ्यो । कहिले काहिँ खेलमा वादविवाद निस्कदा आफू खेल्ने गरेको टिमको पक्षमा नतिजा नदिए उसलाई भोलिपल्टबाट टिमबाट खेल्न दिइँदैन थियो । जथाभावी निर्णय गर्दा विपक्षीको कुटाई खाने डर पनि उत्तिकै हुन्थ्यो । निष्पक्ष रहेर निर्णय गरी भोलि खेल बाहिर बसेर टुलुटुलु हेर्नुभन्दा त आफ्नै टिमको पक्षमा निर्णय दिनु श्रेयस्कर हुन्थ्यो । हाल सर्वाेच्चको उच्च रेफ्रीको हालत त्यस्तै भएको पनि हुन सक्छ ।

प्रतिक्रिया