महिला लिग : चन्द्रपुरसँगको खेलमा आर्मीको फराकिलो जित

काठमाडौं । राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ । उसले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुर नगरपालिकामाथि १०–० को सानदार जित हात पारेको हो ।
आर्मीलाई सहज जित दिलाउन शर्मिला थापा र रश्मी घिसिङले समान ४–४ तथा विमला चौधरी र सपना लामाले समान १–१ गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै विमलाको गोलमा आर्मीले अग्रता लिएको थियो । १५ औं मिनेटमा रश्मीको पासलाई सदुपयोग गर्दै शर्मिलाले अग्रता दोब्बर बनाइन् ।
खेलको ३५ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो तथा आर्मीका लागि तेस्रो गोल गर्दा ४४ औं मिनेटमा सपनाले चौथो गोल गरिन् ।
पहिलो हाफमा ४ गोल गरेको आर्मीले दोस्रो हाफमा ६ गोल थप्यो । ५१ औं मिनेटमा शर्मिलाले ह्याट्रिक पुरा गर्दा ५९ र ६२ औं मिनेटमा रश्मीले गोल गरिन् ।
६४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत चौथो गोल गर्दा आर्मी ८–० ले अगाडि बढ्यो । ६६ औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गरिन् । ८४ औं मिनेटमा रश्मीले नै व्यक्तिगत चौथो गोल गर्दा आर्मी १०–० ले विजयी भयो ।
जितसँगै आर्मीले ४ खेलबाट ७ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको चन्द्रपुरको समान खेलबाट ३ अंक छ ।
प्रतिक्रिया