बिहीबार, वैशाख ११, २०८२

चालु आर्थिक वर्षमा ५ प्रतिशतसम्म आर्थिक वृद्धि हुन सक्छ : अर्थ मन्त्रालय

नेपालखोज २०७७ माघ १६ गते २१:५०

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा झण्डै पाँच प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले चालु आर्थिक वर्षमा पाँच प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताएका छन्।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले यस्तो बताएका हुन् । यो आर्थिक वर्षको ६ महिनामा आर्थिक गतिविधि विस्तारित हुँदै गएको र राजस्व सङ्कलनको स्थिति पनि गएको वर्षकै लयमा फर्किएकाले अबको आर्थिक वृद्धिदर झण्डै पाँच प्रतिशत हुन सक्ने देखिएको बताए । सरकारले यस वर्षको बजेटमार्फत सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वृद्धिमा आएको कमीका कारण गरिबी निवारणमा सरकारले राखेको लक्ष्य भने प्रभावित हुने देखिएको छ । १२ लाखभन्दा बढी घरपरिवार गरिबीको रेखामुनि पर्न सक्ने सम्भावना अर्थ मन्त्रालयले गरेको अध्ययनमा देखिएको पनि सचिव ढुङ्गानाले बताए । आर्थिक गतिविधि कमजोर भएको अवस्थामा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा असर पर्ने देखिएको उनको भनाइ छ । यसबाहेक मानिसको जीवनस्तर केही महँगो हुन सक्ने सम्भावना रहेको पनि उनले बताए।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि रोजगारी सिर्जना हुने गरी उद्योग मन्त्रालय, गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र साना किसान लघुवित्तमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको सचिव ढुङ्गानाले बताए।

त्यस्तै सहुलियतपूर्ण कर्जालाई बैंकका प्रत्येक शाखाबाट परिचालन गर्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ । कोभिड–१९ बाट प्रभावित क्षेत्रमा ७७ अर्बभन्दा बढी पुनर्कर्जा परिचालन भइसकेको सचिव ढुङ्गानाले बताए। यसबाट बिस्तारै सबै क्षेत्र पुरानै लयमा फर्किने पनि उनको भनाइ छ ।

प्रतिक्रिया