पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राखिने भएको छ ।
सोमबार प्रधानमन्त्री ओलीले पशुपतिमा दर्शन र संकल्प पूजा गर्ने क्रममा काम अघि बढाउन निर्देशन दिएका थिए । साथै सरकारले तत्काल ३० करोड रुपैयाँ उपलब्ध गराउने घोषणासमेत प्रधानमन्त्री ओलीले गरेका थिए ।
कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले सुनको जलहरी राख्ने काम अघि बढाउने निर्णय गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।
यसअघि कोषले शिवलिंगमा सुनको जलहरी राख्न लाग्दा मन्दिरकै भण्डारी, स्थानीय बासिन्दा र सम्पदा संरक्षणकर्मीको विरोधले काम रोकिएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनपछि सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको हो ।
प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ । तर, पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको छ ।
कोषले तीन वर्षअघि नै १ सय ४१ किलो सुनको जलहरी राख्ने गरी प्रक्रिया अगाडि बढाएको थियो । त्यस क्रममा पटकपटक सार्वजनिक सूचनासमेत निकालिएको थियो । तर विरोधपछि प्रक्रिया अघि बढेको थिएन ।
तीन वर्षअघि भारतीय मूलका एक अरबी व्यापारीले पशुपतिको दर्शन गर्ने क्रममा सुनको जलहरी राख्न ८० किलो सुन दिने वचन दिएका थिए । त्यही बेलादेखि कोषले जलहरी राख्ने प्रक्रिया अघि बढाएको थियो ।
प्रतिक्रिया