बिहीबार, वैशाख ११, २०८२

स्प्रेडदरमा आएको संकुचनका कारण १७ बैंकको नाफामा गिरावट, १ वर्षमा ५ खर्ब २ अर्ब कर्जा विस्तार

नेपालखोज २०७७ माघ १८ गते १०:५०

काठमाडौं । कर्जा र निक्षेपको ब्याज बीचको अन्तर अर्थात् स्प्रेडदरमा आएको संकुचनका कारण बैंकहरुको नाफामा गिरावट आएको छ । ५ खर्ब २ अर्ब बराबरको कर्जा विस्तार हुँदा पनि बैंकहरुको नाफामा भने संकुचन आएको छ ।

बैंकमा अधिक तरलता जम्मा भएपछि बैंकबीच कर्जा विस्तारमा तीव्र प्रतिस्पर्धा भयो । जसका कारण उनिहरुले कर्जामा लिँदै आएको ब्याज घटाए । घट्दो ब्याजका कारण पनि बैंकहरुको मुनाफामा असर परेको देखिएको छ ।

बैंकरहरुका अनुसार पछिल्लो समय निक्षेपको भन्दा कर्जाको ब्याज धेरै घटेको छ । जसका कारण पछिल्लो समय नाफामा गिरावट आएको हो । यद्यपि बैंकहरुको नाफामा गत असार र असोजको तुलनामा भने कहि सुधार आएको छ ।

नेपाल बैंकर्स एसोसिएसन्ले उपलब्ध गराएको तथ्यांक अनुसार बैंक अफ काठमाडौंको सबैभन्दा बढि स्प्रेडदरमा संकुचन आएको छ । गत वर्षको पुसमा ५ दशमलव शुन्य तीन रहेको बैंक अफ काठमाडौंको स्प्रेडदर अहिले ३ दशमलव तीन नौ प्रतिशत कायम भएको छ । अर्थात यो एक वर्षमा मात्रै यसको स्प्रेडदर १ दशमलव छ चार प्रतिशतले कमि आएको छ ।

एक बैंकरले भने ‘यो एक वर्षमा ५ खर्ब बराबरको कर्जा गएको छ, थप कर्जा प्रवाह हुँदा पनि नाफा घट्नुले बैंकहरुको स्प्रेडदरमा कमि आएको प्रष्ट पार्छ, साथै यसले बैंकहरुबीच तीव्र प्रतिस्पर्धा भएको पनि झल्काउँछ ।’

ग्लोबल आइएमई बैैकको भने स्प्रेडदर सबैभन्दा उच्च रहेको छ । अर्थात् यसको कर्जा र निक्षेपको ब्याज बीचको अन्तर अहिलेपनि ४ दशमलव छ नौ प्रतिशत रहेको छ । सिभिल बैंकको भने स्प्रडेदर सबैभन्दा कम ३ दशमलव चार नौ प्रतिशत रहेको छ ।

महामारीका कारण ऋणीहरुले समयमै कर्जाको ब्याज भुक्तान गर्न सकेका छैनन् । जसका कारण पनि बैंकहरुको नाफामा कमि आएको हो । गत असोजमा बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार रेगुलेटरी रिजर्भमा राखिसकेका र अहिले त्यसको लागि रकम छुट्याउनु नपरेको बताउँछन् ।

नाफा बढेपनि कर्जाको ब्याज उठ्न नसकेपछि बैंकहरुले त्यस्तो कर्जाको हकमा रेगुलेटरी रिजर्भमा नाफाबाट आएको रकम राख्नुपर्छ । तर, अहिले त्यस्तो रिजर्भमा पैसा राख्नुपर्ने थिएन । जसका कारण अहिले नाफा घट्नुको प्रमुख कारण स्प्रेडदरमा आएको संकुचन नै प्रमुख रहेको बैंकरहरुको दाबी छ ।

महामारीका कारण २७ मध्ये २७ बैंकको नाफा गत वर्षको सोहि अवधिको तुलनामा कम भएको देखिएको छ । गत आर्थिक वर्ष पुस मसान्त अर्थात् दोस्रो त्रैमाससम्म वाणिज्य बैंकले ३२ अर्ब २० करोड रुपैयाँ कमाएका थिए । यो आर्थिक वर्ष सोहि अवधिमा बैंकहरुको मुनाफा तीन प्रतिशत घटेको छ । अर्थात् बैंकहरुले यसपालि ६ महिनामा ३१ अर्ब रुपैयाँ मुनाफा कमाएका छन् ।
हिमालयन बैंकको मुनाफा सबैभन्दा धेरै ६३ प्रतिशतले घटेको छ । १० वटा बैंकले भने मुनाफा बढाएका छन् । कुमारी बैंकले मुनाफा सबैभन्दा धेरै ५१ प्रतिशत बढाएको छ । मुनाफा ३० प्रतिशतभन्दा धेरै बढाउने बैंकको सूचिमा एनएमबी, प्रभु, प्राइम कमर्सियल, ग्लोबल आईएमई र मेगा छन् ।

प्रतिक्रिया