महिला लिगमा एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढीविरुद्ध गोलको वर्षा गरेको छ । पहिलो हाफमै १२ गोल गरेको एपीएफले दोस्रो हाफमा अरु १० गोल थप्दै शानदार जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफका खेलाडी हावी भए । एपीएफकी सावित्रा भण्डारी साम्बा एक्लैले एक दर्जन गोल गरिन् । खेल सुरु भएको पाँचौँ मिनेटमै खाता खोलेकी उनले ३२, ३३, ३४, ३७, ४७, ५५, ६२, ६४, ७२, ७९ र खेल सकिनुअघि समेत गरी १२ गोल गरेकी हुन् ।
त्यस्तै अनु लामाले ११, १४, २०, २६ र ६६औँ मिनेटमा गोल गरिन् भने अनिता बस्नेतले ८, ५० र ६७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यसबाहेक एपीएफकै सरु लिम्बुले १८औँ मिनेटमा र रेनुका नगरकोटेले ३१औँ मिनेटमा गोल गरे ।
जारी लिगमा सावित्राले २४ गोल गरिसकेकी छिन् । उनी लिगमा सर्वाधिक गोलकर्तामा अगाडि छिन् । आजको खेलमा चार ह्याट्रिक पूरा गरेकी उनी प्लेयर अफ द म्याच भइन् ।
जारी लिगमा एपीएफ १८ अंकसहित शीर्षस्थानमा छ भने चौदण्डीगढीले जितको खाता समेत खोल्न सकेको छैन ।
एपीएफले आज गरेको गोल जारी लिगमा कुनै पनि टिमविरुद्ध अहिलेसम्मकै सर्वाधिक गोल संख्या हो ।
प्रतिक्रिया