बिहीबार, वैशाख ११, २०८२

नेपाल लाइफको ५१ प्रतिशत लाभांश पारित

नेपालखोज २०७७ माघ २८ गते १७:५४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित ५१ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको बुधबार सम्पन्न बीसौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ३१ प्रतिशत बोनस सेयर तथा प्रति सेयर २० (करसहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख हुनेछ । अध्यक्ष गोविन्दलाल संघाईले कम्पनीले कुल बिमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३०।०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए ।

उनले दुई दशकमा जीवन बिमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दशकको अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने बताए ।

साना लगानीकर्ताहरुको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रतिसेयर अंकित मूल्य सयको व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

कम्पनीको लगानी एक खर्ब पाँच अर्ब ५७ करोड रुपैयाँ छ भने जीवन बिमा कोष १०१ अर्ब ७८ करोड रुपैयाँ र सेयरधनी कोष आठ अर्ब ८५ करोडभन्दा बढी रहेको जनाइएको छ ।

प्रतिक्रिया