७ वर्षीय भान्जा अपहरण गर्ने मामासहित तीन जना पक्राउ

जनकपुरधाम । शनिबार अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार गरिएको छ ।
नगइराइन नगरपालिका– ६ स्थित जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको सकुशल उद्धार गरिएको हो ।
शनिबार दिउँसो १ बजेदेखि वेपत्ता भएका बालकलाई रातिनै जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजारबाट उद्धार गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
गाउँमा अन्य बच्चाहरुसँग खेल्न गएका बालक तीन घण्टापछि फेला नपरेपछि प्रहरीलाई अपराह्न ४ बजे बालक बेपत्ता भएको खबर आएको थियो । खबर आएको साढे तीन घण्टाभित्रै बालकलाई फेला पार्न सफल भएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
प्रहरी उपरीक्षक रानाभाटका अनुसार बालकलाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो भने अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा लक्ष्मेश्वर दासको नाम खुले पनि प्रहरीले अन्यको नाम खुलाएको छैन । आइतबार दिउँसो घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्न लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
प्रतिक्रिया