ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा मंगलबार बिहानदेखि लागेको आगो केही नियन्त्रणमा आएको छ ।
सदरमुकाम फुङलिङबाट आएको दमकल र एक्स्काभेटरको सहायताले आगो नियन्त्रणमा आएको हो । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काएको थियो ।
स्थानीय गोपाल खवासका अनुसार बिहान ९ बजेतिर भोला पौडेलको घरबाट आगो सल्किएको हो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए ।
मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार अहिले आगो निकै नियन्त्रणमा आएको जानकारी दिए । एक्स्काभेटर र दमकल लगाएर आधा बजार जोगाउन सफल भएको बताउँदै उनले पूर्ण रुपमा आगो नियन्त्रणमा आइनसकेको बताए ।
अध्यक्ष लिम्बूका अनुसार करिब ३ दर्जन घर जलेको अनुमान गरिएको छ । केहीबेरमै सर्वपक्षीय बैठक बस्ने र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्थाबारे छलफल र निर्णय गरिने पनि उनले बताए ।
प्रतिक्रिया