आइतबार, वैशाख ७, २०८२

किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ

नेपालखोज २०७७ फागुन २२ गते २०:४०

काठमाडौं । किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ । आज (शनिबार) काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शूभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए ।

यस प्रणाली मार्फत कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यवसायिक सिप विकासका लागि जिल्ला जिल्लामा तालिम सञ्चालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताए ।

किसानलाई कृषि पेशाबाट बिस्थापन नभएर ठूलो स्केलमा उत्पादन गर्नका निम्ति प्रोत्साहन गर्नपर्ने भन्दै प्रधानमन्त्री ओलीले किसानलाई सामुहिक खेती प्रणालीमा संलग्न गराएर उत्पादनमा लगाउनुपर्ने बताए ।

कृषि क्षेत्रमा दिइने अनुदान नगदमा नभएर अनुदान दिँदा भरसक जिम्सी सामग्री खरिद गरेर दिनुपर्ने उनको भनाइ थियो ।

‘अनुदानका विषयमा केही गुनासाहरु रहेका छन् । कृषि क्षेत्रका निम्ति दिइने अनुदानलाई व्यवस्थि तगर्न भरसक जिन्सी सामानहरु खरिद गरेर दिने’, प्रधानमन्त्री ओलीले भने, ‘व्यक्तिगत भन्दा सामुहिक प्रयासलाई प्रोत्साहन गर्ने, व्यक्तिगत रुपमा दिनुपर्ने भएमा नगद रुपैयाँ नभएर किसानलाई आवश्यक पर्ने सामग्री खरिदमा जोड दिनुपर्छ ।’

हरेकको भान्सालाई अस्पतालको रुपमा विकास गर्न सकेमा स्वस्थ्य नेपाल निर्माण गर्न सकिने भन्दै उनले भान्सालाई अस्पताल बनाउनका निम्ति कृषिको ठूलो भूमिका हुने बताए । उनले भने, ‘हाम्रो भान्सालाई रोग उत्पादन गर्ने थलो होइन अस्पतालको रुपमा विकास गर्न कृषिको ठूलो भूमिका रहन्छ ।

हरेकले आफ्नो भान्सालाई विषादीरहित बनाउन सके स्वस्थ्य नेपाल बनाउने अभियानमा थप टेवा पुग्ने उनको भनाइ थियो । नेपाली कृषि प्रणालीलाई आधुनिकीकरण गर्नका निम्ती नेपाल प्रयास गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले सहयोगी हातहरुको सहयोग खेर नजाने समेत बताए ।

प्रतिक्रिया