महाशिवरात्रि पर्व के हो ?

महाशिवरात्रि फागुन कृष्णचतुर्दशीको रातलाई भनिन्छ । यो हिन्दुहरू र शिवभक्तहरुको प्रमुख चाडको रुपमा प्रख्यात छ । यो आदिशंकर भगवानको प्रमुख पर्व हो । हिन्दुहरु शिवजी उत्पत्ति हुनुभएको रातका रुपमा यसलाई व्याख्या गर्दछन् । यसै नामबाट यसलाई महाशिवरात्रि भनिएको हो । हिन्दुहरुको पर्वहरुमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि रहेका छन् । यी चार पवित्र रात्रिमा शिवरात्रि पनि एक हो । यी तथ्यहरुलाई पुराणहरूमा पनि वर्णन गरिएको छ ।
यो पर्व सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिन हो । शिवभक्तहरुको व्रत उत्सव मध्ये यो रात सर्वोत्तम मानिन्छ । महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्छन् । आशुतोष भगवानको प्रिय वस्तु दूध धतुरो र बेलपत्र रहेको छ । यी वस्तुहरु चढाएर भक्तहरु शिवलाई खुशी बनाउँछन् । व्रत उपासना गर्न नसक्नेहरुले ऊँ नमः शिवाय मंत्र मात्रै जपे पनि आशुतोष भगवान खुशी हुने लौकिक मान्यता छ ।
ऊँ नमः शिवाय निरन्तर जपेमा सर्वसिद्धि लाभ हुन्छ । आजको दिन ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिनका रुपमा पनि परिचित छ । शिव पार्वतीको विवाहको दिनका रुपमा पनि शिवरात्रि मनाउने गरिएको वाल्मीकि विद्यापीठका धर्मशास्त्रका उपप्राध्यापक डा प्रकाश ढकालले बताएका छन् । शिवरात्रि पर्वलाई पर्वको राजाको रुपमा पनि व्याख्या विवेचना गरिन्छ ।
भगवान शिवलाई शिवरात्रिमा पूजन गर्नाले भोग र मोक्ष दुवैको प्रप्ति हुने धार्मिक मत छ । नेपालमा शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने र मेला लाग्ने गर्दछ । आजको दिन पशुपतिनाथमा धुमधामको मेला लाग्ने भए पनि कोरोनाका कारण पहिले जस्तो मेला नलाग्न पनि सक्ने धार्मिक अगुवाहरुको अभिमत छ ।
प्रतिक्रिया