आजबाट विधिवत् रूपमा होलीको सुरुवात

काठमाडौं । आजदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुर स्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान तीन छत्रे होलीको चीर ठड्याइए पछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ ।
चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।
वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ ।
कर्माचार्यका अनुसार नासलचोकमा भगवान् कृष्णले गोपिनीसँग लीला गरेको प्रतिमा राखेर कृष्णलीलाको स्मरण गरिन्छ । आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको कर्माचार्यले बताए ।
प्रतिक्रिया