देशभरका सडक पूर्वाधार निर्माणको गुरुयोजना तयार गर्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आइतबार मन्त्रालयमा बसेको बैठकमा बोल्दै मन्त्री नेम्बाङले कुनै एउटा सडकको योजना तयार गर्ने मात्र भन्दा पनि समग्रमा सिङ्गो देशको मास्टर प्लान बनाउन निर्देशन दिए ।
उनले भने, ‘कुनकुन मन्त्रालय, राष्ट्रिय योजना आयोग बसेर के गरेर हुन्छ सिङ्गो मास्टर प्लान त चाहियो होला नी मुलुकको । एउटा बाटोको मात्रै गरेर त भएन । त्यो पनि शुरु गर्नुभएको छ गर्नुहोस् तर सिङ्गो यातायातको मास्टर प्लान त चाहियो नी मुलुकको । यतातर्फ ध्यान दिनुहोस भनेर म भन्न चाहन्छु ।’
त्यस्तै कुनैपनि आयोजनामा मुआब्जा विवादको कारण अवरोध हुने गरेकाले त्यसको समाधानका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर जानुपर्ने पनि मन्त्री नेम्बाङले बताए । आयोजना निर्माणका लागि आधा समस्या मुआब्जा वितरणमा हुने गरेकाले त्यस्ता समस्या समाधानका लागि कार्यदल बनाउँदा सहज हुने बताए । उनले भने, ‘कार्यदल बनाएर हुन्छ की जे बनाएर हुन्छ आदिउदी हामीलाई समस्या परेको भनेको यो मुआब्जा भनेपनि, हर्जना, क्षतिपूर्ति जहाँ ढिलाई जे भनेपनि हामीलाई समस्या पार्ने भनेको ‘राइट अफ वे’ को कुरा हो । यसलाई एउटा ‘राइट अफ वे’ कसरी कायम गर्ने भन्ने बारेमा एउटा कार्यदल बनाऔं न मैले त पहिलेदेखि भनेको हो । ’
कतिपय आयोजनामा स्रोतको सुनिश्चितता भएपनि आन्तरिक कारणले गर्दा ठेक्का प्रक्रिया नै शुरु गर्न नसकिएको पनि मन्त्री नेम्वाङले बताए । त्यसैको मारमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि परेको उनले बताए । अहिले ५७ अर्बको लगानी सुनिश्चितता भइसक्दा पनि टेण्डर गरेर निर्माण कार्यलाई अगाडी बढाउन नसकिएको बताए । त्यसैले आयोजना पिच्छे के कति काम भइरहेको छ भन्ने सम्बन्धमा प्रधावकारी अनुगमन गर्नुपर्ने उनले बताए ।
मानविय त्रुटिका कारण कतिपय आयोजनाको काम अगाडी बढ्न नसकेको पाइएकाले त्यस तर्फ ध्यान दिन पनि निर्देशन दिए । उनले भने, ‘मैले दुईवटा कुराहरुमा ध्यानाकर्षण गरे साथिहरु मैले डिजिलाई मात्रै भनेको छैन । सबै साथिहरु अनुगमनलाई प्रभावकारी बनाएर प्रत्येक आयोजनापिच्छे लाग्नुपर्छ । किनभने कतिपय हुम्यान इररले पनि त प्रोग्रेस भएको छैन । भौतिक प्रगति नभइकन वित्तिय हुँदैन । भौतिक प्रगति गर्नलाई हुम्यान इरर पनि जिम्मेवारी छ । मैले भने तल कार्यान्वयन गर्ने निकायदेखि तहतहमा सबैको आ–आफ्नो कमीकमजोरी छ । होला मेरो ठाउँमा मन्त्रीले गर्नुपर्ने कुराहरुमा भए मैले भने प्रश्ट साथि पाउनुभएको छ औल्याउनुहोस । म बाह्रैमास सहयोगि नेतृत्व गर्न तयार छु भनेर मैले भनिरहेको छु ।’
उनले केही साना तिना पूल निर्माणका लागि तलका डिभिजन कार्यालयहरुलाई अधिकार दिनुपर्ने पनि बताए । त्यस्ता आयोजनाको स्वीकृति गर्ने अधिकार क्षेत्रीय निर्देशकलाई दिदा काम अगाडी बढाउन नसक्ने समस्या केही हदसम्म भएपनि समाधान भएर जाने पनि बताए ।
मन्त्री नेम्बाङले संसदीय समितिहरुका कारण पनि आयोजनाहरुको काम समयमै सम्पन्न हुन नसकेको बताए । एउटै आयोजना दुई तीन वटा समितिमा छलफल हुने र सबैबाट निर्देशन आउँदा काम प्रभावित हुने गरेको बताए । तर तीनै समितिलाई मात्रै देखाएर काम नरोक्न पनि उनले निर्देशन दिए ।
प्रतिक्रिया