आइतबार, वैशाख ७, २०८२

‘महासंघमा दलीय अवधारणा चाहिँदैन’ (भिडियोसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले दलीय अवधारणाअनुसार महासंघलाई अगाडि बढाउन नहुने बताएका छन् ।

२६औं महाधिवेशनको पूर्वसन्ध्यामा उनले महासंघ राजनीतिबाट टाढा नभए पनि दलीय अवधारणा आवश्यक नरहेको बताए । ‘महासंघ राजनीतिबाट टाढा त छैन तर यसलाई दलीय अवधारणाअनुसार अगाडि बढाउनु भने हुँदैन,’ नेपाल टेलिभिजनका अध्यक्षसमेत रहेका विष्टले नेपालखोजसँगको कुराकानीमा भने, ‘महासंघ व्यावसायिक, पेसागत, कतिपय स्थानमा पत्रकारको ट्रेड युनियनको काम गरेको छ त्यहीअनुरूप अघि बढाउनुपर्छ ।’

उनले अहिलेको अवस्थामा पत्रकारको पेसागत हकहितसम्बन्धी, पत्रकारिताको व्यावसायिक विकाससम्बन्धी मुद्दा, पत्रकारको क्षमता विकाससम्बन्धी मुद्दा महासंघले बोकेर हिँड्नुपर्नेसमेत सुझाए । ‘पत्रकारिताको मूल्य मान्यता, उत्तरदायित्व, गरिमा र प्रतिष्ठा अभिवृद्धि प्रमुख मुद्दा बनेको छ,’ उनले भने ।

उनले अहिले महासंघको नेतृत्व होडमा रहेका उम्मेदवारहरू सबै बलिया र सक्षम रहेको पनि बताए । तर उनले पत्रकारितामा क्रियाशील व्यक्तिलाई नै महासंघको नेतृत्वमा पुर्‍याउनुपर्नेमा पनि जोड दिए ।

‘अबको नेतृत्वमा पत्रकारितामा क्रियाशील व्यक्ति नै होस् जसले मुद्दालाई सही रूपमा प्रतिनिधित्व गर्न सक्छ,’ उनले नेपालखोजसँग भने, ‘पत्रकारिताको बहुआयम प्रिन्ट, रेडियो, टीभी, अनलाइन सबैलाई समेट्न सक्ने सबै माध्ययमलाई प्रतिनिधित्व गर्न सक्ने नेतृत्वको खाँचो छ ।’

तस्बिर/भिडियो : संगम ढकाल

थप हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया