बुधबार, वैशाख १०, २०८२

चलचित्र निर्देशक-निर्माताको नयाँ वर्ष !

नेपालखोज २०७८ वैशाख १ गते ९:००

काठमाडौं । नेपाली घर-आँगनमा नयाँ वर्ष २०७८ सुरु भएको छ । नेपालीले २०७७ साललाई निकै पीडादायी तवरले गुजारे । उसो त विश्वभरकै मानिस यो २०७७ सालमा कोभिड महामारीबाट प्रभावित बने । हामीले चलचित्र क्षेत्रमा सक्रिय केही निर्देशक तथा निर्माताहरुलाई बितेको वर्ष कसरी बिताइयो र आगामी वर्षका योजनाबारे सोधेका छौं । हेरौं उनीहरुको जवाफ जस्ताको तस्तै ।

नयाँ वर्षमा सिर्जनशील र गतिशील हुन सकियोस्केपी पाठक, चलचित्र निर्देशक
गएको वर्ष व्यावसायिक काम वा सिर्जनात्मक गतिविधि केही गर्न पाइएन । यो वर्ष फेरि तेस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाख २३ देखि २७ गतेसम्म गर्ने तयारी भइरहेको छ । तर, फेरि लकडाउन होलाजस्तो भएकाले अलमल पनि छ । यस्तो अन्योल र योजनाविहीन वर्षबाट नयाँ वर्षमा सिर्जनशील र गतिशील हुन सकियोस्, यही कामना छ ।

नयाँ वर्ष पनि रमाइलो होलाजस्तो लागेको छैननरेश पौडेल, निर्देशक
ज्यादै नै नरमाइलोसँग बित्यो गएको वर्ष । एउटा टीभीसी विज्ञापन र वेब सिरिज खेलियो । अहिलेको परिस्थिति हेर्दा नयाँ वर्ष रमाइलो होलाजस्तो लागेको छैन । कुनै योजना पनि बनाउन सकेको छैन ।

गएको वर्ष दिउँसै सपना देखियोहेमन्त गौतम, कलाकार/निर्देशक
गएको वर्ष दिउँसै सपना देखेर बित्यो, आगामी वर्ष भने सपना साकार पार्ने योजना छ ।

‘२०७८ सालमा तीनवटा चलचित्रको काम सक्ने विचार छ’मिलन चाम्स , निर्देशक
कोरोना कहर हुँदा-हुँदै पनि मेरो नयाँ छायांकन भइरहेको नयाँ चलचित्र ‘गोर्खा वारियर २’ को कथा तयार पार्न सफल भएँ । साथै मेरा थप दुई नयाँ चलचित्रको काम पनि सुरु गरें । २०७८ सालमा यी तीनै चलचित्रको सबै काम सक्ने योजना छ ।

कोरोनाले वर्ष बितेको पत्तै भएनदीपेन्द्र लामा, चलचित्र निर्देशक तथा अध्यक्ष चलचित्र समीक्षक समाज
कोरोनाको हाउगुजीले गर्दा गएको वर्ष बितेको पत्तै पाएन । लकडाउनले गर्दा बीचमै रोकिएको फिल्म ‘२ नम्बरी’ को पटकथालाई सम्पादन गर्दै बसियो । आउँदो वर्ष यसको छायांकन फेरि सुरु गर्नेछु । साथै, अर्को एउटा फिल्म पनि छायांकन गर्ने योजना बनाएको छु ।

गएको वर्ष उपलब्धिमूलक नभए पनि केही सामान्य काम गरियोजनकदीप पराजुली, निर्देशक
गएको वर्ष कोरोनाले गर्दा खासै उपलब्धिमूलक रहेन सामान्य केही काम गरियो । संस्थागत केही योजना बनाइयो । अब त्यसकै कार्यान्वयनका लागि तयारी गरिँदै छ । सायद नया वर्षमा त्यो पूरा होला । २०७८ सालमा समय अनुकूल रहे एउटा फिल्म, टेलिभिजन च्यानल र एउटा अन्तर्राष्ट्रिय स्तरको डकुमेन्ट्री लिएर आउनेछु । अन्य नियमित काम चलिरहेकै छन् । आउने वर्ष सबैको शुभ होस् मंगल होस् । सम्पूर्णमा नयाँ वर्ष २०८७ को शुभकामना ।

चिसो मान्छेको स्क्रिप्ट सकाएँदीपेन्द्र के. खनाल, निर्देशक
गएको वर्ष धेरैजसो समय घरमै बित्यो । त्यही दौरान चिसो मान्छेको स्क्रिप्ट सकाएँ भने पुजनीय बुबा पनि गुमाएँ । समग्रमा गएको वर्ष दु:खद परिस्थितिमै गयो । फेरि कोरोनाको त्रास फैलिरहेको अवस्थाले आगामी वर्षका लागि खासै त्यस्तो योजना केही बनाउन सकेको छैन । परिस्थिति सहज भए भदौ ११ गते चलचित्र चिसो मान्छे प्रदर्शन गर्ने योजना छ ।

गएको वर्ष अस्तव्यस्तमै बित्योमिलन मोक्तान, अध्यक्ष, साधना कला केन्द्र
गएको वर्ष कोभिडकै कारण डर त्रास, अस्तव्यस्तमै बित्यो । आउने वर्ष नयाँ-नयाँ ठूला-ठूला सांगीतिक कार्यक्रमहरू गर्ने योजना छ ।

प्रतिक्रिया