बुधबार, वैशाख १०, २०८२

गीतकार तथा गायक-गायिकाको नयाँ वर्ष

नेपालखोज २०७८ वैशाख १ गते ९:१५

काठमाडौं । नेपाली घर-आँगनमा नयाँ वर्ष २०७८ को उमंग सुरु भएको छ । नेपालीले २०७७ साललाई निकै पीडादायी तवरले गुजारे । उसो त विश्वभरकै मानिस यो २०७७ सालमा कोभिड महामारीबाट प्रभावित बने । हामीले गीतकार तथा गायक-गायिकाहरुलाई २०७७ साल कसरी बिताइयो र आगामी वर्षका योजनाबारे सोधेका छौं । हेरौं उनीहरुको जवाफ जस्ताको तस्तै ।

अमेरिकाको सांगीतिक यात्रामा छुरामकृष्ण ढकाल, गायक
मेरो २०७७ साल समग्रमा राम्रो बित्यो । विश्व परिवेशमा कोभिडजस्तो अचम्मको भाइरस हामीकहाँ आयो । मान्छेको जीवनमा उतारचढाव आयो । कोभिड कायमै छ । २०७७ सालमा मैले पनि आफूलाई सुरक्षित राखेर रेकर्डिङमा व्यस्त नै रहेँ । अहिले म अमेरिकाको सांगीतिक यात्रामा छु । मेरा केही राम्रा गीतहरु बनेका छन् । सबै काम सकेपछि सार्वजनिक गर्नेछु । २०७८ सालमा यो कामना गरौं कि यो कोभिड जनजीवनबाट हटोस् । २०७८ सालको संगीतप्रेमी सबैमा शुभकामना ।

समय परिवारसँगै बिताइयोनलिना चित्रकार, गायिका
विशेषगरी परिवारसँग राम्ररी समय बिताउन पाएँ । त्यसैले आगामी वर्षमा केही नयाँ गीत आउँछन् । त्यसका लागि थप केही योजनासहित नेपालमा कार्यक्रमहरू गर्ने सोच छ ।

नयाँ वर्षमा नयाँ प्रोजेक्ट सुरु गर्दै छु – अरुण तिवारी, गीतकार
गएको वर्ष खासमा कोभिडकै सेरोफेरो र कुतूहलमै बित्योभन्दा फरक नपर्ला । के हुने, कसो हुने हो भन्दै समय गयो । धेरै समय त घरमै बसियो । तर यौटा फाइदा भने आत्ममन्थन गर्न र नयाँ सिर्जना गर्न पर्याप्त समय पाइयो । करिब दुई दर्जन जति गीत यही बेला रेकर्डसमेत भए । योचाहिँ आनन्दको विषय रह्यो ।
अब आगामी वर्षमा केही आशावादी गीतहरु बजारमा आउँदै छन् । नयाँ प्रोजेक्टसमेत सुरु हुँदै छन् । केही गीतको तत्काल म्युजिक भिडियोसमेत बन्दै छन् । समग्रमा यो वर्ष गीत-संगीतमा म पुनः पुरानै लय र धारमा फर्कने जमर्को गर्दै छु । नयाँ वर्ष २०७८ को सबैमा शुभकामना ।

२०७७ कोरोना र राजनीतिले चौपटसुमित खड्का, गायक
२०७७ साल कोरोना र राजनीतिले चौपट बनाएको छ । तर २०७८ साल आशावादी देखिएको छ । हेरौं के हुन्छ । नयाँ वर्षको सबैमा शुभकामना ।

नयाँ वर्षमा नयाँ जोश-जाँगरले काम गर्ने होमन्जु पौडेल, गायिका
गएको वर्ष त सबै समय कोरोनाप्रति समर्पित रह्‍यो । अब २०७८ साल कोरोना विस्थापित भयो भने गीति-संगीतमा नयाँ जोस र जाँगरसाथ फलदायी काम गर्ने योजना छ । हेरौं समय कस्तो हुनेछ ।

‘कोरोना सकिए सांगीतिक प्रस्तुति गर्ने हो’ रमिला न्यौपाने, गायिका
गएको वर्ष विश्वमा फैलिएको कोरोना माहामारीले गर्दा कुनै काम र योजनाहरु पूरा गर्न पाइएन । कोरोना कहरसँगै लकडाउनले धेरै सास्ती भोग्नुपर्‍यो । सांगीतिक काम केही हुन पाएन सिंगो वर्ष त्यत्तिकै बित्यो । एकदम दर त्रास र मुस्किलले बाँचियो । अब २०७८ सालमा कोरोना त्रास हट्यो भने गत वर्ष गर्न नपाएका सांगीतिक कार्यहरु पूरा गर्दै पहिलेको जस्तै सामान्य अवस्था भए देश-विदेशका सांगीतिक प्रस्तुतिहरुमा सहभागी हुँदै नयाँ गीतहरु रिलिज गर्दै अघि बढ्ने योजना छ । साँच्चै समयअनुकूल भयो र कोरोनाको कहर सकियो भने यो सम्भव छ ।

पूरा नभएका काम सक्ने तयारी छयुवराज चौलागाईं, गायक
गएको वर्ष कोरोना को कारण थोरै कामहरु मात्र गर्न पाइयो । मेरो मात्र नभएर विश्वका सबै मानिसहरु दु:ख, त्रासले बाँच्नुपर्यो । सोचे जति काम गर्न नपाए पनि थोरै काम भयो तर राम्रो काम भएकामा खुसी छु । अब नयाँ वर्षमा नयाँ सोच नयाँ ऊर्जाका साथ राम्रा-राम्रा सांगीतिक कोसेलीहरु दर्शक-स्रोतामाझ ल्याउने तयारीमा छु । गएको वर्ष पूरा गर्न नसकेका कामहरुलाई नयाँ वर्षको आगमनसँगै अगाडि बढाउने सोचमा छु । काम गर्दा सधैं हौसला, धैर्य र मिहिनेतमा मैले ध्यान दिने गर्छु । ढिलो भए पनि काम राम्रो गर्नुपर्छ भन्ने मेरो सिद्धन्त छ । आगामी दिनमा कामलाई मिलाएर अगाडि बढ्ने योजना बनाएको छु ।

गएको वर्ष रेकर्डिङमै बित्यो राजेन्द्र थापा, गीतकार
गत वर्ष चलचित्र र गैरचलचित्र विधाका गीत लेखेर र रेकर्डिङ गरेरै बित्यो । धेरै गीत रेकर्डिङ भए पनि लगानीकर्ता तथा उत्पादकहरुले रिलिज गर्न आँट नगर्दा बजारमा आउन सकेन । म योजना बनाएर कुनै ठूलो कामको न चाहना न त अभिलाषा नै राख्छु । अवकाशको जीवन हो जति आउला त्यति नै लेख्मला । बस् नयाँ वर्षको सबैमा शुभकामना ।

नयाँ वर्षमा नयाँ जोशले काम गर्ने होसजय सुब्बा तुम्रुक, गायक
गएको वर्ष कोरोना कहरले गर्दा डर त्रासमै बित्यो । कामकाजमा राम्रोसँग संलग्न हुन सकिएन । तर आगामी दिनमा नयाँ जोस र जाँगरका साथ आफ्नो कर्म क्षेत्रमा लाग्ने, नयाँ-नयाँ सिर्जनाहरु समाजलाई दिने तयारीमा छु ।

गएको वर्ष कोरोनामै बित्योप्रमोद खरेल , गायक
गएको वर्ष कोरोनासँगै बित्यो । जताततै अभावको सामना भयो । आगामी वर्ष भने कोरोनारहित होस् भन्ने कामना छ । सबैमा नयाँ वर्षको शुभकामना ।

थुप्रै सिर्जनात्मक कार्यक्रमहरुको तयारी गर्ने योजना छलक्ष्मण शेष, संगीतकार
गएको वर्ष कोरोनारुपी महामारीसँगै त्रासै-त्रासमा बिताउनुपर्‍यो । अर्कोतिर संगीतका सिन्डिकेटहरुविरुद्ध प्रतिलिपि अधिकार हननको मुद्दा र उनीहरुविरुद्ध संघर्ष गर्दैमा बित्यो । आगामी वर्ष दर्जनौं मुद्दामार्फत अभियानलाई निरन्तरता दिने र थुप्रै सिर्जनात्मक कार्यक्रमहरुको तयारी गर्ने योजना छ ।

प्रतिक्रिया