कलाकारहरुको २०७७ साल कस्तो रह्यो ? नयाँ वर्षको योजना भने यस्तो !

काठमाडौं । नेपाली घर-आँगनमा नयाँ वर्ष २०७८ सुरु भएको छ । नेपालीले २०७७ साललाई निकै पीडादायी तवरले गुजारे । उसो त विश्वभरकै मानिस यो २०७७ सालमा कोभिड महामारीबाट प्रभावित बने । हामीले केही कलाकारहरुलाई २०७७ साल कसरी बिताइयो र २०७८ सालका योजनाबारे सोधेका छौं । हेरौं उनीहरुको जवाफ जस्ताको तस्तै ।
लौ अब फेरि के गर्ने होला भनेरै यो वर्ष बित्ला भन्ने डर ! – दीपकराज गिरी, कलाकार
गएको वर्ष धेरै समय अब के गर्ने होला भनेर बित्यो । यो वर्ष लौ अब फेरि के गर्ने होला भनेरै बित्ला भन्ने डर…! चलचित्रको काम त लगभग ठप्पै भो, त्यसैले आफ्नो फार्म अर्ग्यानिक बस्ती र फार्म हाउसको कामको सुरुवात गरें । यो वर्षचाहिँ चलचित्र छायांकन गरौं कि भनेको कोरोना पनि चलचित्रप्रेमी नै परेछ । फिल्मजस्तै कोरोना १, कोरोना २ आउन थाल्यो…! त्यसैले यसै गर्छु भनेर योजना बुन्न सकेको छैन !!!
कोरोना उफ् कोरोना ? – दीपाश्री निरौला, निर्देशक/कलाकार
कोरोना उफ् कोरोना ? अब राम्रो होला भन्ने आशा छ । तर फेरि कोरोना सिरिज बन्ने कुराले पो चिन्तित बनायो त ? सबैलाई नयाँ वर्ष २०७८ को मंगलमय शुभकामना ।
कोरोनाको डरैडरमा बाँचियो – जितु नेपाल ‘मुन्द्रे’, हास्य कलाकार
गएको वर्ष कोरोनाको डरैडरमा बाँचियो । आउने वर्ष त्यस्तो नहोस् भन्ने कामना छ । सबैलाई नयाँ वर्ष २०७८ सालको धेरै-धेरै शुभकामना ।
नयाँ वर्षले उमंग जगाएको छ – रवि डंगोल, हास्य कलाकार
गएको वर्ष लकडाउनले त्यति उत्साहजनक भएन । सिर्जनाका पाटाहरु ठप्प भए । नयाँ वर्षले नयाँ उमंग जगाएको छ, उल्टो-सुल्टो कमेडी सिरियललाई अझै परिस्कृत गर्दै जान्छु र अर्को एउटा सिरियलको पनि थालनी गर्छु । नयाँ वर्षको सबैलाई शुभकामना ।
गएको वर्ष दु:ख-सुख मिश्रित – सुरेन्द्र केसी ‘मुलासाग’, हास्य कलाकार
गएको वर्ष दु:ख-सुख मिश्रित बित्यो । यो वर्ष अघिल्लोपटकको भन्दा सफल बनाउने सोच छ । अघिल्लो वर्ष लगानी गरेका कामहरु सफल बनाउने सोच पनि छ ।
नयाँ वर्षमा नयाँ उत्साह – उज्जु डार्लिङ, कलाकार
गएको वर्ष कोरोनाका कारण बिजनस चौपट भयो । केही तनाव पनि भयो । नयाँ वर्षलाई नयाँ उत्साहका रुपमा लिने विचार छ । देशभित्र र विदेशमा केही नयाँ योजनासहित दैनिकी बिताउने सोच बनाएको छु ।
गएको वर्ष कोरोनाकै डरमा बित्यो – हरिश निरौला (कक्रोज), हास्य कलाकार
गएको वर्ष कोरोना कहरकै डर-त्रासले बित्यो । काम काजमा व्यस्त हुन सकिएन । नयाँ वर्षमा नयाँ जोश र जाँगरका साथ आफ्नो कर्म क्षेत्रमा लाग्ने विचार बनाएको छ । समाजलाई पनि नयाँ-नयाँ सिर्जना दिने मनसाय छ ।
लकडाउन पूर्ण रुपमा पालना गरियो – रवीन्द्र मानन्धर, कार्टुनिस्ट
गत वर्ष कोभिडको जोखिमबाट बच्न सरकारले आह्वान गरेको लकडाउन (बन्दाबन्दी) को पूर्ण रुपले पालन गरियो । फुर्सदका बेला, सुस्ताएको पेन्टिङलाई गति दिएँ । पहिलेभन्दा धेरै पेन्टिङ बनाएँ, कार्टुन बनाएँ, कौसीमा तरकारी लगाउन सिकेँ । छोरीलाई घरायसी काम, पेन्टिङ, लेखन र साइकल सिकाएँ । नराम्रो बानी, युट्युबमा फिल्म हेर्ने बानी लाग्यो । नयाँ वर्षमा यस्ता बानी कम गर्नुछ, काम (चित्रकला) मा सुधार्नु छ । अनि, कोभिडकालमा ‘मिस’ गरेको भ्रमणलाई प्राथमिकता दिनुछ ।
चित्रांकन र कार्टुनकर्मलाई नै निरन्तरता दिँदैछु – योगेश खपाङी, कार्टुनिस्ट
कोभिडको त्रासै-त्रासका बीच वर्ष सुखद रहेन । तर नयाँ वर्ष २०७८ साल राम्रो हुनेछ भन्नेमा आशावादी छु । पत्रकारिता, चित्रांकन र कार्टुनकर्मलाई नै निरन्तरता दिँदैछु ।
प्रतिक्रिया