ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजनाको काम शुरु भएको हो ।
वर्षातको समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने उद्देश्यले काम शुरु गरिएको टीकापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भैरवसिंह रावलले बताए ।
खानेपानी संस्थाले सुपरीवेक्षणको काम गर्दै आएको छ । संस्थाले यस आयोजनाको प्रक्रिया अगाडि बढाएको थियो भने टीकापुर नगरपालिकाले समन्वय गर्दै आएको थियो ।
२९.५ किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापन गरिनेछ भने सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत व्यवस्थापन हुनेछ ।
जसले डुबानका कारण बर्सेनि खेप्दै आएको सास्ती कम हुने अनुमान गरिएको छ । पहिलो चरणमा नगरपालिकाको वडा नं १ बजार क्षेत्रमा र शक्तिनगर शिविरमा काम हुनेछ ।
बाढीका कारण सबैभन्दा प्रभावित हुने बजार क्षेत्र र शिविर क्षेत्र भएकाले पनि पहिलो चरणमा त्यहीअनुसार काम अगाडि बढाइएको खानेपानी संस्थाका अध्यक्ष रावलले बताए ।
रु ६० करोड ६९ लाख तीन हजार लगानीमा निर्माण हुनलागेको आयोजनाको ठेक्का टुडी कन्ट्रकशनले पाएको छ । कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ ।
आयोजनाले दुई क्षेत्रमा काम गर्दै आएको शहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय पश्चिम क्षेत्र आयोजना कार्यान्वयन समूहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिए ।
मानव मलमूत्रको व्यवस्थापनले पदूषणलाई कम गर्दै जैविक मल उत्पादनमा सहयोग पुग्ने छ । अहिले नागरिकको शौचालयको सेफ्टी ट्याङ्कीमा जम्मा भएको मलमूत्रलाई प्रविधिको प्रयोग गरी मल उत्पादन गरिने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो ।
जसले प्राकृतिक पदूषणलाई रोक्नुका साथै जैविक मल उत्पादनमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया