सोमबार, वैशाख ८, २०८२

आज राति १२ बजेदेखि तेस्रो देश जान नेपाललाई ट्रान्जिट बनाउन नपाइने

नेपालखोज २०७८ वैशाख १५ गते १२:१९

काठमाण्डौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाएको छ ।

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जाने उद्देश्यले नेपाल आउन र नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्य देश जान रोक लगाएको जनाएको छ । यो नियम आज राति १२ बजेदेखि लागू हुने विभागले जनाएको छ ।

कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण अर्को सूचना नआएसम्मका लागि यो प्रतिबन्ध लागेको विभागले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेकाले दिल्लीबाट सिधा उडानमार्फत नेपालमा दैनिक सयौँ भारतीय नागरिक आउने गरेका थिए । साउदी अरबले भारतसँगको सिधा उडान रोकेपछि साउदीमा काम गर्ने भारतीय नागरिक नेपालको बाटो हुँदै साउदीतर्फ जाने गरेका थिए ।

विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ ।

प्रतिक्रिया