डाइनोसरहरूको स्वागत

पृथ्वीले बाँच्न गाह्रो बनाउँदा
अन्य नक्षत्रमा विदेशिएका डाइनोसरहरू
विज्ञानको छटपटाहट हेर्न
पाँचै महाद्वीपका सहरभित्र पसेका छन्
मान्छेहरु पिँजडाभित्र आफैंबीच पर्खाल लगाइरहेका
एक अर्कोबीच सशंकित हुँदै टाढिइरहेका
नाक मुख छोपी पहिचान गुमाउँदै गएका
ठाऊँठाऊँमा बेरोजगारी बिस्फोटन भइरहेका
मृत्यु संस्कार छाडी सामूहिक चिहान निर्माण भइरहेका
कमजोर राज्यका बलिया शासक रोइरहेका
नदेखिने र नसुनिने शत्रुबाट हमला भइरहेको
समय टक्क अडिएको, नि:सहाय मानवता तड्पिरहेको
मानव दोहनबाट धरतीले विश्राम लिइरहेकी
पशु–पन्छी स्वतन्त्र विचरण गरिरहेका
अब पृथ्वी जीउन योग्य छ भनि बसाइ-सराइ गर्न
ती डाइनोसरहरू रमाइरहेका
विज्ञान तकनिकी पुँजी अहंको प्रतिमूर्ति
मानव लास चिच्याहट र वेदनाबीच
एउटा मूर्ख साँढे न्युयोर्कवरपर डुक्रिरहेको
स्वतन्त्रताले मानवतासित सम्झौता गरी
विज्ञानले ज्ञानसित नतमस्तक भई
डाइनोसरलाई प्रतिस्थापन गरिने उत्तर
निल आर्मस्ट्रङले चन्द्रमा टेकेर या
माल्थसले प्राकृतिक सन्तुलन गमेर दिने हुन् ?

प्रदीप पौड्याल
प्रदीप पौड्याल नेपालखाेजका स्तम्भकार हुन् ।
प्रतिक्रिया