२४ घण्टामा कोरोना नियन्त्रणसम्बन्धी ५८४ सचेतनामूलक कार्यक्रम

काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन् ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा २५ हजार ८ सय ८४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । मास्क नलगाई हिँडडुल गर्ने ५८ हजार १ सय ५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई गरी छाडिएको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रममार्फत मास्कतथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

कार्यक्रमलाई थपप्रभावकारी र सफलबनाउन नेपालप्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

प्रतिक्रिया