तीन करोड २६ लाख अनुदानमा बन्याे शीत भण्डार

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीत भण्डार निर्माण गरिएपछि कृषकलाई राहत मिलेको छ। स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य उपज सुरक्षित साथ भण्डारण गरेर राख्न कृषि शाखाको परिसरमा शीतभण्डार निर्माण गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।
लुम्बिनी प्रदेश सरकारको सशर्त अनुदानमा तीन करोड २६ लाख ७६ हजार ५६६ रुपैयाँ मा बनेको शीतभण्डारमा फरकफरक क्षमताका पाँच कोठा छन् । दुईतले दश कोठासहितको प्रशासनिक भवन निर्माणाधीन र अपाङ्गमैत्री शौचालय निर्माण भइसकेको छ ।
यहाँ उत्पादित आलु खेतीलाई ध्यानमा राखेर मुख्य भवन निर्माण सम्पन्न गरी शीतभण्डार अहिले चालु गरिएको नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले बताए। तीन सय मेट्रिक टन क्षमताको भए पनि हाल भने १५० मेट्रिक टन क्षमताको कृषि उपज भण्डारण हुने अनुमान लिइएको छ ।
नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्रमार्फत रम्भा गाउँपालिका १ हुँगीकी भगवती अधिकारीलाई वार्षिक दुई लाख पाँच हजारमा सम्झौता गरेको बताइएको छ । आर्थिक वर्ष २०७५/७६ मा लुम्बिनी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न स्थानीय तहलाई प्रस्तावना माग गरेअनुसार रामपुरले पनि प्रस्ताव पेश गरेको थियो ।
नगरपालिकामा मात्रै यस वर्ष आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले पनि धेरै उत्पादन भएको छ । नगरभित्र करीब पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको कृषि शाखाका प्राविधिक प्रज्वल केसीले जानकारी दिनुभयो । जिल्लामा यसअघि रम्भा गाउँपालिकामा २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई सञ्चालनमा आइसकेको छ ।
प्रतिक्रिया