मजदुरका नाममा मजदुरमारा नेतृत्व कहिले सम्म ?

आज अंग्रेजी तारिखको मे १ हो । सन् १८८६ मा अमेरिका को सिकागो सहरमा श्रमिकहरुले ८ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनको सुरु गरेका थिए । त्यसैको सम्झनामा प्रत्येक वर्ष संसारभर मे दिवस मनाइन्छ । हुन त त्यसभन्दा अघि पनि फ्रान्समा मजदुरहरुले आन्दोलन गरेको इतिहास पाइन्छ । दुनियाँमा सामन्तवादको अन्त्य र पुँजीवादको उदयसँगै श्रमिक आन्दोलनको सुरुवात भएको हो ।
अन्तर्राष्ट्रिय रुपमा आज दुनियाँका प्रायः सबै मुलुकले श्रम दिवस अथवा मजदुर दिवस मनाउँदै आएका छन् । नेपालमा विसं. २०२० देखि हालसम्म मे दिवस मनाइँदै आए पनि यहाँ यो एउटा कर्मकाण्डमा मात्र सीमित छ । हाम्रो अनुभवले के भन्छ भने- अझै पनि मजदुरहरु आर्थिक रुपले भयानक समस्याहरुले घेरिएका छन् ।
लोकतन्त्रको उदयपछि यहाँ मजदुरहरुको हक-हितका लागि जति सरकारले काम गर्न सक्थ्यो त्यति काम गरेको पाइँदैन । नेपालमा विभिन्न किसिमका मजदुर युनियनहरु त खुले तर ती सबैले श्रमभन्दा पुँजीलाई नै बढी महत्त्व दिएको पाइयो । अर्थात् लोकतन्त्रको स्थापनापछि हामीकहाँ जति पनि सरकारहरु बने ती सबैले पुँजीपतिहरुको लाभमा मात्र ध्यान दिए, कसैले मजदुरहरुको हक-हितमा गम्भीरतापूर्वक काम गरेको देखिएन । मजदुरहरुलाई अहिले पनि उनीहरुको श्रमको उचित ज्याला (तलब) ,भत्ता, सुविधा आदि दिइएको छैन । न कुनै सरकारले यहाँ मजदुरहरुका लागि कुनै ठोस कल्याणकारी योजनाहरु ल्याउन सकेको पाइन्छ ।
कानुन निर्माण भए पनि अहिले नेपालमा बाल मजदुरी व्यवहारमा कायमै छ । महिला मजदुरहरुको कम ज्याला र उनीहरुमाथिको अन्य शोषण पनि कायमै छ । मजदुरहरुलाई उपलब्ध गराइने सुविधाहरु पनि पर्याप्त छैनन् । यस्ता यावत् विसंगति, विकृति र शोषणका कुराहरु छन्, जसलाई सुधार गर्न उहिल्यै सकिन्थ्यो । त्यसमा न राजनीतिक दलहरुले, न ट्रेड युनियनका नेताहरुले, न विगत र वर्तमानका सरकारहरुले सुधार ल्याएको देखियो । हाम्रा सबैजसो राजनीतिक दलहरुले मजदुरहरुलाई आ-आफ्नो भोट बैंक बनाउने काममा मात्र प्रयोग गरे अनि कथित मजदुर नेताहरु पनि मजदुरहरुका नाउँमा राजनीतिक दलहरुको स्वार्थ पूरा गर्ने र राजनीतिक दलहरुका नेताहरुलाई खुसी तुल्याई आफ्नो दुनो सोझ्याउने काममा मात्र तल्लीन रहेको देखियो । यसको मुख्य कारण हाम्रो देशका मजदुर युनियनहरुको नेतृत्व वास्तविक मजदुरको हातमा नहुनु हो ।
यहाँका ट्रेड युनियनहरुको उच्च नेतृत्वमा वास्तविक मजदुरहरुको ठाउँमा राजनीतिक दलका नेता वा तिनका आसेपासेहरु नै रहँदै आएका छन् । यतिका वर्ष बितिसके पनि अहिले पनि नेपालका ट्रेड युनियनहरुले राजनीतिक दलहरुको भ्रातृ संगठनका रुपमा दलहरुकै स्वार्थमा काम गरिरहेका छन् । आजको दिन के कुरा पनि भन्नैपर्ने हुन्छ भने जबसम्म मिहिनेतसाथ वास्तविक मजदुरहरु ट्रेड युनियनहरुको उच्च नेतृत्वमा पुग्दैनन् वा त्यसबाट बहिस्कृत वा वञ्चित भइरहन्छन् वा उनीहरुलाई त्यसो हुन बाध्य बनाइरहिन्छ तबसम्म हाम्रो देशमा मजदुरहरुको अवस्थामा सुधार आउँदैन न त ट्रेड युनियन आन्दोलन नै अगाडि बढ्न सक्छ ।
अहिले कोरोनाको महामारीबीच रोजीरोटीका लागि आफ्नो थाकथलो छाडेर विभिन्न सहरहरुमा पलायन भएका लाखौं पुरुष तथा महिला मजदुरहरु विभिन्न किसिमका समस्याले प्रताडित छन् । तिनीहरुका लागि ठोस नीति तथा कार्यक्रमहरु तयार गरी तत्काल लागु गर्नुपर्नेमा सरकार आफ्नै दलको खिचातानीमा रुमल्लिएको छ । दुर्भाग्य त के भने यो सरकारमा बस्नेहरु सत्तामा पुग्नुअघि सम्म आफूलाई मजदुरहरुको सच्चा हितचिन्तक वा मसिहा बताउँथे रअरुलाई मजदुरमारा सामन्त भनेर थाक्दैनथेँ । अझ गाउँ-घरका असंगठित क्षेत्रका मजदुरहरुको त के कुरा गर्नु ?
यद्यपि अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ट्रेड युनियन आन्दोलनका तमाम सहिदहरुमा श्रद्धाञ्जली अनि सकल मजदुरवर्गमा हार्दिक शुभकामना ।
प्रतिक्रिया