आइतबार, वैशाख ७, २०८२

भक्तपुरको मध्यपुर-थिमिमा विपन्न आवास निर्माण सुरु

नेपालखोज २०७८ वैशाख १९ गते ९:२१

भक्तपुर । मध्यपुर थिमि नगरक्षेत्रभित्र अति विपन्न परिवारका लागि बेग्लाबेग्लै चार वटा घर निर्माण सुरु गरिएको छ । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा ती घरको निर्माण सुरु भएको हो ।

निर्माण हुने घरमध्ये दुई घरको शिलान्यास भएको छ भने बाँकी दुईको प्रक्रिया सुरु भएको जनाइएको छ । अति विपन्न परिवारमध्ये मध्यपुर थिमि–८ बोडेको चन्कोमा सरिता कपालीको एक तले पक्की ढलान घर आगामी जेठ १५ सम्ममा तयार गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष नवीनप्रकाश श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी मध्यपुर थिमि–७ नगदेशमा अभयपुत्र डङ्गोलको पनि एक तले घर निर्माण शुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार वडा नं ४ शिवाटोलका सुवन कपाली र सुकुचा शाहीको घर पनि चाँडै निर्माण सुरु गरिने छ ।

प्रदेशसभा सदस्य डा श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त रु २० लाखमा उपभोक्ता समितिबाट अपुग रकम एवं भौतिक सामाग्रीहरु थप गरी मध्यपुर थिमिभित्र चार अति विपन्न परिवारमध्ये दुई परिवारको एक तले पक्की घर निर्माण सुरु गरिएको हो ।

“योजनाको अनुमानित कुल लागत रु ३२ लाख ३५ हजार ५७५ रहेको छ । त्यसमा प्रदेश सरकारबाट रु २० लाख प्राप्त हुने र नपुग रकम सहभागिताअन्तर्गत उपभोक्ता स्वयंले बेहोर्ने छ”, अध्यक्ष श्रेष्ठले भनेका छन् ।

रासस

प्रतिक्रिया