लुम्बिनी प्रदेशको सरकार पुनर्गठनप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेशमा सरकार पुनर्गठन भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोख्रेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्तिप्रति ध्यानाकर्षण भएका जनाएका हुन् ।
साथै उनले ४२ प्रदेशसभा सदस्यहरुको बहुमत हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष सपथ ग्रहण रोकी नियुक्ति बदरको निम्ति भइरहेको सङ्घर्षप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
लोकतान्त्रिक प्रक्रियाबाट अविश्वास प्रस्तावको सामना गर्नुको बदला अल्पमतमा रहेका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिई संसद्को काम कारबाहीलाई अवरुद्ध गरेको अध्यक्ष प्रचण्डद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
राजीनामालाई सकारात्मकरूपमा लिन सकिने तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरूपको सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक रहेको उनको आरोप छ ।
तत्कालै गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका बहुमत सदस्यहरुले हस्ताक्षरसहितको निवेदन मात्र नभई भौतिकरूपमै प्रदेश प्रमुख समक्ष उपस्थित भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया