कोरोना संक्रमणबाट एमाले प्रदेश सांसद पशुपति चौलागाईंको निधन

काठमाडौं । संविधानसभा सदस्य तथा बहालवाला वाग्मती प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ ।
चौलागाईंले वैशाख २१ गते सामाजिक सन्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको र घरमै आराम गरिरहेको जानकारी दिएका थिए । केही दिन होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि मनमोहन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अहिले (मंगलबार) राति १० बजे उनको निधन भएको हो । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका एमाले नेताले चौलागाईंको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य चौलागाईं हाल वाग्मती प्रदेशसभाका सदस्य हुन् । एमालेका प्रभावशाली नेता मानिने चौलागाईं दोलखा ‘ख’ बाट निर्वाचित भएका हुन् ।
युवा संघका पूर्वअध्यक्ष चौलागाईं यसअघि दोलखाबाट दुईपटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटब्युरो सदस्य तथा साबिक वाग्मती अञ्चल इन्चार्जसमेत थिए ।
पेप्सीकोलामा बस्दै आएका चौलागाईंका पत्नी, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया