दाङ, सुर्खेत र जाजरकोटमा निषेधाज्ञा थप

दाङ । दाङ, सुर्खेत र जाजरकोटमा निषेधाज्ञा थपिएको छ । दाङमा जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि यहाँ वैशाख १७ गतेदेखि निषेधाज्ञा लागेको हो ।
जिल्लामा आवश्यक सामग्री किन्न आइतबार र बुधबार मात्रै पसल खुल्ने भएका छन् । यसअघि हरेक दिन बिहान ७ देखि ८ बजेसम्म सामग्री किन्न पाइने व्यवस्था भएकोमा आजदेखि हप्तामा दुई दिन मात्रै पसल खुल्ने भएका हुन् ।
आइतबार र बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म मात्रै सामग्री किन्न पाईने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
यस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निषेधाज्ञा १५ दिन थप गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ । निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ ।
अब खाद्यान्नका पसलहरु आइतबार, मङ्गलबार र विहीबार तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया