बुधबार, वैशाख १०, २०८२

सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख सहयाेग

नेपालखोज २०७८ जेठ ३ गते १९:०२

काठमाडौं । सरकारले काभ्रेको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड-महामारी ब्यवस्थापनका लागि छ करोड असी लाख रूपैयाँ प्रदान गर्ने भएको छ ।

अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत उक्त अस्पताललाई महामारी व्यवस्थापनार्थ सो रकम दिने घोषणा गरिएको हो ।

धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि करिव रु तीन अर्ब बजेट विनयोजन गरिएको छ ।

मन्त्रालयले विनियोजित बनेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम मागगर्ने जनाउँदै आइतबार ती अस्पताललाई रु दुई अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त अस्पताललाई कोरोना-बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाइएको छ । घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आईसीयू, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्याङ्क निर्माण गर्नुपर्नेछ ।

“सरकारको सहयोगपछि कोरोनाका विरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्छ” अस्पतालका मुटुरोग विशेषज्ञ प्राडाराजेन्द्र कोजूले भने ।

उनका अनुसार अस्पतालमा एचडीयू, आइसियू र सामान्य गरी १२५ श्यया कोरोना सङ्क्रमितको उपचारार्थ प्रयोग गरिएको छ । सो अस्पतालले काभ्रेलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईको क्षेत्रकालाईसमेत सेवा पुर्याउँदै आएको छ ।

“जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिकसमेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैं कोरोना महामारी ब्यवस्थापन गर्न अनुदान दिलाइएको हो, सकेसम्म छिटो उक्त बजेट निकास गर्न प्रक्रियागत ताकेता भइरहेको छ” सांसद गोकुलप्रसाद बाँस्कोटाले भने । उनका अनुसार अस्पतालमा सकेसम्म छिटो अक्सिजनको ब्यवस्थापन गर्न सकिए कोरोना-संक्रमितलाई ठूलो राहत मिल्नेछ ।

धुलिखेलबाहेक बनेपामा शिरमोरियल अस्पताल छ । आइतबारदेखि बनेपामै २५ शय्याको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ ।

काभ्रेपमा पछिल्ला दिनमा दैनिक सङ्क्रमणदर डेढसय नाघेको छ भने सरदर दुईको मृत्यु हुनेगरेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया