प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत

काठमाडौं । नेपाली पत्रकारिताको नियामक निकाय प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजो (बिहीबार) साँझ बसेको बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार तथा कानुन व्यवसायी बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
अहिले खुलानेपाल डटकमका सल्लाहकार सम्पादकसमेत रहेका बस्नेतसँग कान्तिपुर दैनिकमा झन्डै दुई दशक काम गरेको अनुभवसमेत छ । उनी एक कुशल कानुन व्यवसायीसमेत हुन् ।
प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आएका थिए ।
काउन्सिलका नवनियुक्त अध्यक्ष बस्नेतले अब नेपाली पत्रकारिताको नियामक निकायलाई स्वच्छ, पारदर्शी र सबैको भरोसा गर्न लायकको संस्थाका रुपमा आफूले लैजाने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘काउन्सिललाई नयाँ उचाइमा पुर्याउने मेरो सोच छ ।’
प्रतिक्रिया